Wednesday, June 07, 2006

का.वि.वि.को विज्ञप्ती



३ जुन २००६ (ज्येष्ठ २०, २०६३)मा कान्तिपुर दैनिकमा प्रकाशित का.वि.वि.को विज्ञप्ती

२०६३।२।१३ कान्तिपुर दैनिकको पाठक मञ्चमा काठमाडौ विश्वविध्यालयको बारेमा तदर्थ समितिको नामबाट "प्रशासनको मनोमानी" शीर्षक दिएर छापिएका कुराहरु प्रति हाम्रो ध्यान आकृष्ट भएको छ। ती एकपक्षीय दृष्टिकोणले जनमानसमा विश्वविध्यालयप्रति अनावश्यक भ्रम उत्पन्न हुने सम्झेर त्यसलाई विश्वविध्यालय प्रशासनले देहायको यथार्थता र वास्वविकता स्पष्ट गर्न चाहन्छ:-

१. काठमाडौँ विश्वविध्यालय सँसदद्वारा पारित ऐनको अधिन विधिसम्मत तवरले सँचालन भएको सँस्था हो। यो सँस्था १५ वर्ष नपुग्दै विध्यार्थी, शिक्षक तथा कर्मचारीको अथक परिश्रम र अभिभावक, स्थानीय समुदाय तथा आम नेपालीको स्नेहको कारण आजको स्थितिमा आइपुगेको हो। जसको विश्वविध्यालय परिवार सदैव आभारी रहेको छ। यसका लागि विश्वविध्यालय परिवार सम्बन्धित सबैमा कृतज्ञता प्रकट गर्दछ।

२. जहाँसम्म शिक्षक छनौटको कुरा छ, गुणात्मक शिक्षका लागि योग्य शिक्षकको छनौट कुनै पनि शैक्षिक सँस्थाको प्राथमिक र महत्वपूर्ण कार्य हो। लेक्चरर भएको मितिले ७ वर्षसम्म स्थायी असिस्टेण्ट प्रोफेसर हुन नसकेको व्यकति स्वत: सेवाबाट हट्ने शिक्षक तथा कर्मचारी सेवा शर्त नियम २०५० ले व्यवस्था गरेको छ। त्यसकारण विश्वविध्यालयले शिक्षकहरुलाई हटाइएको नभई असिस्टेन्ट प्रोफेसर हुन योग्यता विकास गर्न नसकेको कारण पदोन्नति हुन नसकि स्वत: हट्नु परेको स्थितिसम्म हो। असिस्टेन्ट प्रोफेसरमा नियुक्तिका लागि विश्विध्यालयको छनौट समिति छ, जसलाई ओझेलमा राखेर प्रशासनको मनोमानी भयो/गर्यो भन्ने आरोप उचित र उपयुक्त होइन।

३. विश्वविध्यालयले स्थायी शिक्षकहरु नियुक्ति गर्नु पूर्व प्रथमत: राष्ट्रिय दैनिक पत्रिकामा खुल्ला विज्ञापन गर्दछ। खुल्ला विज्ञापन पछि स्वतन्त्र विषयगत विशेषज्ञको रोहवरमा अन्तर्वार्ता लिइन्छ र त्यसपछि मात्र स्थायी नियुक्तिलाई सुनिश्चित गरिन्छ। यसरी स्थायी नियुक्तिलाई खुल्ला प्रतिस्पर्धामा लगिएको छ, अस्थायीलाई स्वत: स्थायी गर्ने नियम छैन, यध्यपि, अस्थायीले खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति नपाएमा पनि त्यस्ता अस्थायी शिक्षक पुन: सेवामा रहन सक्छन। ७ वर्ष सम्मका लागि अस्थायी लेक्चरर नियुक्ति भएका शिक्षक असिष्टेन्ट प्रोफेसर पदमा स्थायी नियुक्त भएमा अस्थायी सेवा अवधि समेत स्थायी अवधिमा परिणत हुने गर्दछ।

४. सार्वजनिक सँस्थाहुरको सर्वमान्य मानव सँसाधन नीतिका रुपमा हामीले नियुक्तिको यो प्रक्रियालाई अँगीकार गरेका छौँ। त्यही नीतिको परिधिभित्र खुल्ला प्रतिस्पर्धामा बसेर विश्वविध्यालयका पदाधिकारीहरुको केही नगन्य आफन्त पनि छनौटमा परी सेवामा प्रवेश गरेका छन्। विना भेदभाव समान अवसरको हकदार सबै हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।

५. विश्वविध्यालय ऐन अनुसार कार्यकारी परिषद् विश्विध्यालय सभाप्रति उत्तरदायी हुन्छ। सभाद्वारा पारित नियमहरु, बजेट र वार्षिक कार्यक्रम भित्र रहेर काम गर्दछ भने यसले गलत गरेको भए सभामा कुरा उठने थिएन होला त? स्थापनाकालदेखि हालसम्म यस विश्वविध्यालयले आफ्नो पारदर्शी आर्थिक विवरण सभाद्वारा नियुक्त "क" श्रेणीका लेखापरीक्षकहरुद्वारा प्रत्येक वर्ष तोकिएको समयभित्र लेखापरीक्षण गराइ सो प्रतिवेदन सभाबाट पारित गर्ने गरेको छ।

काठमाडौँ विश्वविध्यालय विध्यार्थी, शिक्षक, कर्मचारी र समग्रमा सबै नेपालीहरुको साझा सँस्था हो। त्यसैले यो सबैको हो। आफूले काम गरेको सँस्थालाई अनावश्यक बदनामी गर्नुबाट आफ्नो मर्यादा र गरिमा बढ्छ भन्ने कुरामा विश्वास नगर्न विश्वविध्यालय प्रशासन सबै शिक्षक तथा कर्मचारीहरुलाई अाग्रह गर्दछ।

अन्तमा: कुनै पनि सँस्थाको विकास त्यसको नेतृत्व क्षमता र इमान्दारितामा भरपर्ने हुन्छ भन्ने कुरामा दुईमत हुन सक्दैन। नेतृत्व तहमा बस्नेको स्वेच्छाचारिता, मनोमानिता र तजविजी अधिकारको प्रयोगबाट शून्यबाट शुरु भएको काठमाडौ विश्वविध्यालयको यतिञ्जेको प्रगति सम्भव होला त? यस कुरामा सबैको ध्यानाकर्ण गर्न समेत विश्वविध्यालय प्रशासन आफ्नो कर्तव्य ठान्दछ।

रजिष्ट्रार
काठमाडौँ विशव्विध्यालय
धुलिखेल ।

No comments: