Thursday, August 10, 2006

सीतारामको ई-मेल छोरालाई-४

प्रिय बृजेश,

कस्तो छ तिमीलाई? हाम्रो आपसी सँबाद र भलाकुसारी लगातार लीक भईराखेको छ । यसपाली चाँही मैले एकदम सावधानी अपनाएको छु र यो मेल वर्षौँ देखि हामीले प्रयोग गरिरहेको केयुको ल्यापटपको माध्यमबाट घरबाट नै पठाउँदै छु । केयुमा आशालाग्दा घटनाक्रमको विकास भईराखेको छ । हाम्रो पकड, हाम्रो नातेदारहरुको हाली-मूहाली र केयुको स्रोतसाधनमा अब हामीले तिम्रा सन्तानका बेलासम्ममा राज गर्नेछौँ । यसका लागी हामीले केयुकै स्रोत र साधनको भरपुर उपयोग गरिराखेका छौँ । केही दिन अगाडी केयुमा जनआन्दोलन-२ का प्रखर सन्चालक र नेपाली घर्तीका क्रान्तीकारी सुपुत्रद्वय: क.प्रचन्ड र क.बाबुरामले पदार्पण गरिबक्सेका कुरा त तैँले पहिले नै थाहा पाईस होला। भेटघाटका अवसरमा सुरेशजी र मैले हाम्रा गुट-उपगुटका नेता, सहनेता, उपनेता लगायतका अभिनेताहरुका पनि उहाँहरुको दर्शण गर्ने ईच्छालाई पुरा गरेका छौँ । माओवादी नेताद्वय:सँगको भेटघाट पछी हाम्रा अधिकाँश समर्थकहरु अत्यन्त क्रान्तिकारी भईसकेका छन र हामीले अब "लाल सलाम" लाई केयुको "अभिवादन" बनाउने हो की भनेर बिचार-बिमर्श गरिराखेका छौँ । सो भेटघाटका अवसरमा के-कस्ता कुराहरु भए अहिले तँलाई सार्वजनिक रुपमा बताउन म सक्दिन । तर सिन्धुपाल्चोकको जलविरेमा त्यहाँको विध्युत कम्पनीलाई सहयोग गरेकै जस्तो गरेर हामीलाई पनि माओवादीले सहयोग गर्नु पर्छ भन्ने माग राखेका छौँ । देव गुरुङजीले पनि चन्दा हामी केही समय उठाउँदै रहने छौँ भनेर भन्नु भएको पत्रिकामा पढिस होला नी। त्यसैले हाम्रो माग पुरा नहोला भन्न सकिन्न। तर सबभन्दा राम्रो कुराचाँही हामीले यस्तो माग राखेको केही दिनपछीनै खेतानजीका कामदारहरु बनेपामा २-किलोमिटर टाढा कुदेछन भनेर मैले भन्दा सुरेशजी २-बित्ता माथि उफ्रिनु भएको थियो । राजा ज्ञानेन्द्रको बन्दुकले अकस्मात हार खाँदाखेरी हामी वास्तवमै अनाथ भएका थियौँ। झन केयुमा अप्रत्यासित रुपमा भित्रिएको लोकतन्त्रलेे त मलाई ईन्तु न चिन्तु बनाएको थियो। तर, अब हामीले डा. बोरिस निरौला जस्ता निहत्था जनताका छोराहरु सँग डराउनु पर्ने बेला छैन। राजाको बन्दुकको विकल्पका हामीले भेट्टाइसकेका छौँ। अब तैँ भन त, बन्दुकको साथ पाएपछि हामीलाई कस्ले छुने? प्राज्ञिक मर्यादा भनेको कुरा गतिशील छ बाबु, शान्तीको बेलामा यो परेवा बन्छ भने युद्धको बेलामा यो बन्दुक। जस्ले यस्को रुपलाई ठम्याउन सक्छ, उ मात्र यो दुनियाँमा माथि जान सक्छ ।

यस्तै हाम्रा सफलता र का.वि.मा भवनै-भवन मात्र निर्माण भएका कुराले क्रान्तीकारी नेताद्वय: अत्यन्त प्रभावित भई'स्याछ। का.वि.का भौतिक पूर्वाधारका साथ-साथै क्रान्तिकारी जनयुद्धका योद्धाहरुलाई शान्तीपथमा ल्याउनका लागी हाम्रा योगदान दिनसक्ने क्षमताको प्रशँसक अब को नहोला त? का.वि.को वर्तमान मोडेलनै जनवादी मोडेल हो र हाम्रा नातावाद र भ्रष्टाचारका कुरा कोट्याउनेहरु सब उपल्लो दर्जाका प्रतिकृयावादी हुन भनेर सुरेशजीले उहाँहरुमा सभक्तिपूर्वक बिन्ती चढाईसक्नु भएको छ। शायद हामीसँगको भेटघाट र हाम्रो मोडेलबाट हुन सक्ने प्रत्यक्ष चन्दालाभका कारण होला, उहाँहरु एकदम प्रभावित होईबक्स्या छ। हिजो मात्र त हो नि बाबुरामजीले पनि नेपाल चेम्बरमा उच्चशिक्षामा हाम्रै मोडेललाई पछ्याएर हाम्रो मोडेललाई जनवादी मोडेल भन्ने ठप्पा लगाईबक्स्या। शिक्षामा ब्यापारीकरण र नाफाखोरीका बिरोध भएपनि उच्चशिक्षामा निजी क्षेत्र र हामीजस्ता प्रशासकहरुले मनग्गे नाफा खान किन नहुने? त्यसैले उहाँहरुले निजि क्षेत्रलाई उच्च शिक्षामा पाईला हाल्न अनुरोध गर्नु भएको हो। देेशमा सँाच्चिकै माओवादी शासन कायम हुने हो भने, हामी अर्को विश्वविध्यालय पनि खोल्न सक्नेछौँ। भिसी सरकी सुपु्त्री प्रेरणा कुमारी, र सेकेन्ड पारस मनिशजीलाई भिवष्यमा भिसि र रजिष्ट्रार हुने गरि अर्को विश्विध्यालयका लागी तयारी गर्ने क्रममा छौँ। केयुको वास्तविक उत्तराधिकारी तिमी नै रहने छौँ र हाम्रा विरोधीहरुले लाख कुरा काटुन, केयुबाट तिम्रा नाम काटन सक्ने वाला छैनन यिनिहरु। शायद यिनै सकारात्मक विकाशक्रमले होला अस्ति धुलिखेल लजमा सुरेशजी झुम्मिदैँ नाच्न थाल्नु भा' थ्यो, झन्डै लडनु भा, पुष्पजीले सम्हाल्नु भो । पुष्पजी सुध्रीसक्नु भएकै कारण अब सुरेशजी र म तन्न तनकाँउदै झुम्मिन सक्ने भएका छौँ । ठिक छ, यो चिठ्ठि पढदै, कालो पदार्थ बिना एक राउन्ड तैँले पनि ताने हुन्छ।

यसबाट हाम्रो मोर्याल साँच्चिकै माथि गएको छ र अब हामीले पनि "ईटाको जवाफ, ढुँगाले दिने भएका छौँ"। यसका लागी केयुकी "प्रेरणा" र हाम्रा सुरेशजीकी सुपुत्रीले हाम्रो वेबसाईटमा कान्तिपुरको लीँक सिधै राखेका छन। यसो गर्नु ठिक होला र छोरी भनेर मैले भनेको थिएँ, छोरीले त्यो ब्लगस्पटलाई ठिक गर्न उस्कै बाटो समात्नु पर्छ भन्यो र हामीले पनि स्वीकृति दिएका छौँ। केयुको वेवसाईटमा तैँले हेरीस भने अब हाम्रो पक्षको भनाईमात्र तैँले देख्ने छस। हाम्रो कुरा काट्ने, हाम्रो कामको आलोचना गर्ने र हामीले केयुमा टन्न खाएको देख्न नसक्ने तत्वहरुका कुनै पनि भनाई हामीले केयुमा राख्नेवाला छैनौँ । सुरेशजीकी सुपुत्रीले हामी सबैको तस्विर राख्न मिल्ने गरि राजदरबारको वेवसाईटको ले-आउट फलो गर्ने हो की भन्दै थियो, तर हामीले चाँही परिवर्तित परिस्थितिमा "कृष्णसेन अनलाईन" फलो गर्ने निर्देशन दिएका छौँ । वास्तवमै भन्ने हो भने अहिले विकासक्रमले म एकदम खुशि छु। केयुलाई हामीले धुलिखेलमा स्थापना गरेर अत्यन्त राम्रो काम गरेका छौँ र अब त हामीलाई कसैले घेर्न लाग्यो भने कामीडाँडा तिरबाट सहयोग नआउला भन्न सकिन्न। देव गुरुङ्गजीको भनाईमा कति प्रभावकारीता छ, त्यो चाँहि बुझ्दै गर।

यस्तै सात दललाई खुशि पार्न राधे लागेको बेलामा र लाल दललाई खुशि पार्न सुरेशजी स्वयम लागेको बेलामा हाम्रो विजय सुनिश्चित छ। तै पनि भविष्य के पर्ने हो कुन्नी जस्तो लागेर अहिले हामिले हाम्रो समर्थनमा बोल्ने अर्को जमात पनि तयार गरेका छौँ। बेल प्रसादजीका सहयोग र हाम्रै नातागोताको समूहलाई मिलाएर केयु प्राध्यापक सँघलाई काउन्टर दिनका लागी हामीले अभिभावक सँघ बनाएका छौँ। अब यो अभिभावक सँघले कसरी काम गर्छ मैले तँलाई सुनाई रहुनु पर्ला जस्तो मलाई लाग्दैन। केयुका शिक्षक प्रतिनिधिहरु, धुलिखेलका नगर प्रतिनिधले जस्तै यो अभिभावक सँघले हाम्रो पक्षमा बोल्नेछ। हाम्रा नातावाद, हाम्रा भ्रष्टाचार र तिमिहरुका असक्षमता र सँदिग्ध चरित्रकाबारेमा यो अभिभावक सँघले केही बोलेको थाहा पाईस भने, मलाई तुरुन्त फोन गर। हात्तीका मोटो बिट्टोले हान्दै त्यस्ता मुखलाई बन्द गर्नेछौँ । कुपालाई बदनाम गर्न हात्तीको बिट्टो प्रयोग गर्ने हामीले हाम्रा विरोधलाई मत्थर पार्न, दबाउन झन मोटा-मोटा हात्तीका बिट्टाहरु निकाल्ने छौँ र यस्ता आवाजहरुलाई जुनसुकै हालतमा र ऐन-केन प्रकारेण दबाएर छोडने छौँ।

हाम्रो शक्ती, हाम्रो क्षमता र हाम्रो पहँुच कसरी कायम भयो र कसरी कायम हुँदैछ, त्यो कुरा मैले तँलाई भन्नु पर्छ जस्तो लाग्दैन। सानोमा तैँले "मौकामा हिरा फोर्नु" भन्ने कुबेरको निती कथा त पढेकै होलास नी। केयुको रिटेनिङ्ग वाल देखि दवाडीजीले हाल हात हाल्नु भएको परियोजनामा हामीले कनिका-कनिका गरि रकमको जोहो गरेका छौँ। हामीसँग छ र त्यसैले हामीले समर्थन किन्न सकेका छौँ। यो दुनियाँमा नबिक्ने चिज केही छैन। शान्तीको बेलामा परेवा र युद्धको बेलामा हतियार बेच्ने धुर्त ब्यापारीलाई पनि माथ गर्ने क्षमता भएको सुरेशजीको दिमागले रकमको जोहो गर्नका लागी नै मलाई तीन-तीन चोटी रजिष्ट्ार बनाको हो। "पैसाको अगाडी महादेवको पनि तीन नेत्र भन्ने" भनाई बुढापाकाले त्यतिकै बनाएका होईनन । र नेपालमा अहिले पैसामा नबिक्ने को छ र? के लोकतान्त्रिक आन्दोलनका शहीदका आत्मालाई दश-दश लाखमा किन्दै गिरीजा स्वयमले "स्पेश"को कुरा गरेको छैन र? यदि निभ्न लागेको बत्तीलाई गिरीजा "स्पेश" रुपि प्राण फुक्न तयार हुन्छन भने हामीले किन आफ्नो डुब्न लागेको कुर्सीका लागी चन्दारुपी "स्पेश" नदिने? गाँठी कुरा यहि हो बाबु! सब ब्यापार हो। पैसा जम्मा गर, समर्थन किन, अनि आफ्नो सत्ता बचाउ। फरक यति छ, बिक्रेताहरु फरक हुन्छन तर हामी क्रेताहरु सँधै समान छौँ। हिजो हामीले दरबारमार्ग वरपरबाट समर्थन किनेका थियौँ भने अहिले हामी लाल दरबारको बाटो धाईरहेका छौँ।

अब यस्तो मेहनत गर्ने सुरेशजीले के प्राध्यापक सँघलाई गाली गर्न नपाउने? को हो त्यो भू-पति भन्ने? सुरेशजीलाई प्राप्त प्रचन्ड समर्थनको अगाडी भू-पति नाथेले मन्त्रालयको धक्कु लगाउने? ३४ हजार जग्गाका मालिक नारायणहिटिका भू-पित त अहिले प्रचन्डबेगका कारण ब्लाकज्याकको दुनियामा पस्न बाध्य भएको बेलामा हामीलाई भू-पति जस्ता कमलो चिजले केही छुन सक्दैन। के सुरेशजीले त्यतिकै हार मान्छन भनेर मान्छेहरले ठानेका छन कि क्या हो? के सुरेशजीले हार मान्ने भएका भए त्यतिकै साधुत्वको बारेमा लेख्छ र? के सुरेशजी पुष्पराजजी जस्तै कागजी बाघ हो र? के सुरेशजी काफ्लेजी जस्तै पलायनबादी हो र? सुरेशजीले आफ्नो राज कायम गर्नका लागी अबिरल प्रयास गर्नेछ, रुने छ, कराउने छ, चिच्याउने छ र जरुरत परेको बेलामा बहुलाउने पनि छ। यो दुनियाँ तैले ब्यापारीको मात्र दुनिँया भन्ठानिस होला। छोरा सत्यता त्यो होईन। यो दुनियाँ नाटककारको दुनियाँ हो र यो दुनियाँ विदुषकको पनि दुनियाँ हो। मैले यति गरेँ तर मलाई केही गर्दा पनि जस दिएन भन्दै बोरिस निरौला जस्ता दुनियाका सच्चा सुपुत्रलाई ठँुग्दै वार्ता गरौँ-वार्ता गरौँ भन्दै गोहीको आँशु चुहाउने पागल नाटकबाजको पनि दुनियाँ हो यो। यो दुनियाँ विध्यार्थिको घनमा टन्न लुट मच्चाउँदै, अाफु र आफ्ना नालायक भ्राता र सन्तानका भूँडी भर्दै उनै विध्यार्थीहरुलाई उनिहरुका वास्तविक शुभचिन्तक प्राध्यापकहरु विरुद्ध उभ्याउन सक्ने विषालु सर्पको दुनियाँ हो।

यी दुनियाँ नबुझेका केही प्राध्यापकहरु अहिले सुरेशजीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा घोच्ने काम गर्दै छन । यि प्राध्यापकहरुका दुष्प्रचार, दुर्नियत र अफवाहले सुरेशजीलाई केही फरक पारदैन । दशकौँ केयुमा दलिएर लाग्ने सुरेशजीलाई‌ एक-दुईजना प्राध्यापक भनाँउदाहरुले गाली गर्दैमा केही फरक पर्दैन । सुरेशजीका बोली खाने, सुरेशजीका भनाईलाई ठीक हो भन्ने र सुरेशजीका सच्चरित्रताका दुहाई दिन लाखौँ छन, नेपालमा छोेरा । कुरा म्यानेजमेन्टको हो र कसरी म्यानेज गर्नेे भन्ने हो । मास्टरी पेशाले नै आफ्नो पेट पाल्ने यी प्राध्यापकहरु जीवन भर मास्टरी गर्छन, विध्यार्थिलाई सिकाउँछन, पढाउँछन र विध्या दिन्छन, तर के पाउँछ यिनिहरुले? केही रकम, केही तलब, केही भत्ता? पाउने मान्छेे हामी हौँ । वी आर द एचिभर्स एन्ड वी नो हाउ टु एचिभ । त्यसैले बोेल्ने दे यीनिहरुलाई, लेख्न दे यीनिहरुलाई जे मनलाग्छ त्यो । तर प्रत्येक यस्ता लेखकलाई चिन, पहिचान गर र सकुन्जेल मलाई तुरुन्त खबर गर । यस्ता लेखकहरु हाम्रा भित्री सर्कल र दुनियाँमा कहिले रहने छैनन र अावश्यक परे केयुमा पनि कहिले नरहने बाटोको जोहो गर्न म तयार छु । तसर्थ बाबु, तैँले यस्ता दुष्प्रचार भयो भनेर केही चिन्ता लिनु पर्दैन । अर्को कुरा तैँले राम्रो सँग बुझ्नु पर्छ, सुरेशजी प्राध्यापक र उप-कुलपति मात्र होईन, लेखक पनि हो, भाषणबाज पनि हो, वक्ता पनि हो र प्रवक्ता पनि हो । र जरुरत परेको बेलामा सुरेशजी दलाल पनि हो, दुराचारी पनि हो, यौन पिपासु पनि हो, आत्मघाती पनि हो र प्रचारको भोको नराधम पनि हो। तर सब भन्दा ठूलो र राम्रो कुरा केयुका मास्टरहरुलाई तह लगाउन सक्ने नाटकबाज पनि हो र यो भन्दा पनि राम्रो हाम्रो अन्नदाता हो । तर यतिका गुणले भिरएका सुरेशजी केही प्राध्यापकहरुले केही भन्दैमा तर्सन्छ र भन्या? भडकिन्छ सुरेशजी, सन्किन्छ सुरेशजी र यदि यी मास्टरहरुले अति नै गर्ने हो भने सुरेशजीले आफ्नै सिर्जनालाई पनि ध्वस्त गर्न सक्छ। तीन-तीन चोटी असफल भईयो भन्दैमा के चौथो पटक पनि असफल होईएला र छोरा ? त्यसैले, सबको बिरूद्ध तैँले बोल्न सक्छस, पुष्पजीलाई तँ गाली गर, भद्रमानजीलाई तँ गाली गर, काफ्लेजीलाई तँ गाली गर, तर तेरो "कालो पदार्थको"कसम सुरेशजीलाई गाली नगर किनभने उ सँाच्चिकै हाम्रो अन्नदाता हो, उ का.वि.कै सच्चा सुपुत्र हो । सुरेशजीलाई गाली नगरेश है ।

तिम्रो माया गर्ने,
सीताराम
रजिष्ट्रार ।


################################
लेखकलाई निम्न ई-मेलमा सम्पर्क गर्न सकिन्छ:
rbuzzgain@yahoo.com
################################