Sunday, August 20, 2006

सीतारामको ईमेल छोरालाई-५

प्रिय बृजेश,

आरामै? तिमीलाई ईमेल लेख्दा लेख्दा म त हैरान भईसकेँ। यसो नलेखुँ भन्छु, फेरी कसैले यो ई-मेल झुट्टा हो भन्दै फलाक्छ, अनि फेरी लेख्न थाल्छु । केयुमा सुरेशजी र मेरो कुर्शी रहुन्जेल यो ई-मेल लेख्दै बस्न म कटिबद्ध छु र ईन्द्रको बाउ चन्द्रले पनि मलाई रोक्न सक्ने वाला छैन । त्यसैले बाबु, अब यो ईमेल सधैँ तैँले पढन पाउने कुरामा ढुक्क भए हुन्छ तँ र तँलाई यसै ईमेल मार्फत भविष्यको रजिष्ट्रार हुन आवश्यक कला, कौशल, चाटुकारीता र दलालीका कुराहरु सिकाउन म तयार छु । मान्छेहरुले हाम्रो आपसी सँवाद र छलफलका कुराहरु लीक गर्दैमा म तर्सीने वाला छैन र तँ पनि नतर्सीकन बस । काग कराउँदै गर्छ र पीना सुक्दै गर्छ। हाम्रो ईमेलहरु ज-जस्ले सार्वजनिक गरेपनि हामीलाई केही मतलब छैन जबसम्म हाम्रो कुर्सी केयुमा बाँकी रहन्छ । केयुमा कुर्सी बाँकी राख्नका लागी हामीले आयोजना गरेका नाटकहरु अहिले तीब्र गतिका साथ केयुको शैक्षिक मन्चमा मन्चन हँुदैछ। मलाई दशतिरबाट घेर्दै, "राजा ज्ञानेन्द्रलाई त हामी मतलब गर्दैनौँ, तँ खाते सीताराम को होस?" भन्ने मास्टरहरुलाई तह लगाउनका लागी हाम्रो समूह अहिले तयार भईसकेको छ । अस्ती केयुमा सुरेशजीको हार्दीक निमन्त्रणामा सो समूहले हामीलाई केयु राम्रो सँग सन्चालन गर्नु भन्ने ज्ञापन पत्र दिन आएको थियो । हाम्रा निमन्त्रणामा हामीले चाहेको भाषामा ज्ञापन पत्र दिने समूहलाई सुरेशजी र म स्वयम बसेर गफ गर्दै सो पत्र लियौँ । मुकुन्दजीले धुलिखेल लज रिसोर्टबाट मगाएको कफी, कटलेट र स्यान्डवीचले सम्पूर्ण साथिहरु खुशी हुनु भयो । केही साथिहरु त भीसीसरकै कार्यालयमा नै बिजुली पानि चाहीन्छ भन्दै थिए तर हामीले अहिले बिजुली पानि बिना काम गर्नुस बेलुकी बोतलका बोतल चढाउनेछौँ भनेर सम्झायौँ । हाम्रो सम्झाई-बुझाईकै कारणले होला धुलीखेलबासी लोकल मित्रहरुले मास्टरहरुलाई धुँईधुँईती खोज्न थाले र अत्यन्त बौद्धिक देखिनुहुने हाम्रा प्राशसकीय स्टाफ दण्डपाणीजीलाई पो मास्टर भन्दै हिर्काउन थालेछ । धेरैजसो मास्टरहरु चाँही बिध्यार्थिहरुका एसोसीएसन बनाउने बैठकमा भाग लिन लागेका रहेछन । त्यसकारण, कोही पनि मास्टर प्रशासकीय भवन अगाडी देखिएका थिएनन । मास्टरहरु नभेट्टाएको झोँकमा अन्य क्रमचारीलाई हाम्रा भाडाका टट्टुहरुले हान्नु एक हिसाबले ठिक हो भने अर्को हिसाबले बेठीक पनि हो । नाङ्ग्लो ठटाएर हात्ती तर्साउने हिसाबले यो कुरा ठीक हो । तर, अत्यन्त भलादमी, बौद्धिक र जुझारु कर्मचारी माथि हातपात हुन पुगेको कारण, केयुका अन्य स्टाफहरु पनि जुर्मुराउन थालेका छन र कुसाको गठन गरेका छन।

कुपाको मात्र टेन्सनले दिक्क हामीलाई कुसा-१ र कुसा-२ को गठनले झन तनाव थप्ला जस्तो लागेको छ । एउटा साधारण पाठक-पत्रले शुरु भएको यो आन्दोलनले यस्तो रुप लिनु अलि अप्ठेरो कुरा हो छोेरा । एक-आपसमा जुध्ने, लडने र खुला रुपमा गालीगलौजमा उत्रने मास्टरहरु स्वयँम एकताको सुत्रमा बाँधिएर हाम्रा विरुद्ध, हाम्रा एक छत्र राजका विरुद्ध र तिमिहरुका भिवष्यका विरुद्ध आन्दोलनमा उत्रनु हाम्रो रणनैतिक असफलता हो । यसले के देखाउँछ भने चेतनशील प्राध्यापकहरुलाई सधैँ नै जालझेलका मार्फत कजाएर राख्न नसकिने रहेछ । त्यसमा त पुष्पजीका तर्कहीन कुरा र दादागिरी र भद्रमानजीको तानाशाही ब्यवहारले आगोमा ध्यु थप्ने काम भएको छ । उहाँहरुका गल्तीलाई ढाकछोप गर्न र हाम्रा बिचपनि पूर्ण एकता छ भन्ने देखाउन सुरेशजी आफै अहिले रणनिति बनाउने क्रममा हुनुहुन्छ । हाम्रो रणनिति पनि "ढाडमा टेकेर टाउकोमा" हान्ने शैलीको छ किनभने यो जनवादी रणनिति हो र केयु जस्तो जनवादी शिक्षा प्रणाली भएको विश्वविध्यालयमा पनि यस्तै रणनिति हुनु पर्छ भन्ने कुरामा सुरेशजीले हामीलाई कन्भिन्स गर्नु भएको छ । अब तिम्रा लागी यो ढाड भनेको कुरा के हो मैले भनिरहनु पर्ला जस्तो त मलाई लाग्दैन तर पनि कुनै द्विविधा नहोस भन्ने हेतुलेे केही प्रकाश पार्ने कोशिस गर्दैछु। सुरेशजीबाट प्रतिपादित रणनिति हो त्यसैले म स्वयम पनि अलि कन्फ्युज्ड छु। सोध्नु परेमा सुरेशजी स्वयमलाई फोन गरे हुन्छ । ढाड भन्नाले हामीले भ्रष्टाचारबाट आर्जित सम्पती, भ्रष्टाचारलाई मलजल गर्ने बेल प्रसाद जस्ता चाटुकारलाई खान दिएको साधन-स्रोत र यी भ्रष्टाचारका रकमबाट परिचालन हुने स्थानिय गुन्डाहरुलाई लिनु पर्दछ। त्यस्तै सुरेशजी र म, सीताराम, स्वयम यसमा लागेका भएकाले हामीले हाम्रा ब्यक्तिगत नातागोता, समूह, अनुगृहित समूह आदिलाई पनि ढाडका रुपमा राखेका छौँ। सुरेशजीका भाईहरु नामी भ्रष्टाचारी हुनुका साथ-साथै अत्यन्त पाशविक, र निर्लज्ज गुन्डा पनि भएका कारण हामीले टेक्ने ढाड निक्कै बलियो छ भनेर तैँले बुझे हुन्छ। त्यस्तै राधेले म्यानेज गरेका सातादलका दलाल नेताहरु, सुरेशजीले चाटुकारीता गर्दै रहनु भएका लाल दलका ध्वजा-पताकाहरु पनि हाम्रै ढाड हुन । सात दलका दलालहरु हाम्रा ढाड हुन भन्ने थाहा नपाएका केही मास्टरहरु अहिले पनि सात दलका ढोका-ढोकामा सुरेशजी सरी पुगिरहेका छन रे । गणतन्त्र चाहिन्छ भनेर कराउने बीस-लाख जनताका सामूहिक आवाजलाई नटेर्ने सात दलका दलालहरुले यस्ता मास्टरहरुका आवाज सुन्नेवाला छैनन। यी मास्टरहरु कराउँदै गर्छन र बढीमा रत्नपार्कमा गएर अनशन बस्न जान्छन। यीनै मास्टरहरु हुन हामीले आक्रमण गर्नु पर्ने टाउका हरु। यी मास्टरहुरका कारण कुसा-१ र कुसा-२ को गठनले कर्मचारी र स्टुडेन्टहरुका पनि सँगठन गठन हुनुले यिनिहरुनै हामीले आक्रमण गर्नु पर्ने टाउका भएकामा हामी सबजना कन्भिन्स छौँ र तँ पनि कन्भिन्स भए हुन्छ ।

रणनैतिक प्रत्याक्रमणको पहिलो चरणमा हामीले प्रचारबाजी र पर्चाबाजीलाई सफलतापूर्वक सन्चालन गरेका छौँ । कान्तिपूरमा विज्ञप्ती निकाल्ने देखि लिएर, "अजय पी. नाथ"को मुखपत्र "स्पटलाईट" दैनिकमा बेल प्रसादजीको अन्तर्वार्ता छपाउने, टँक ढकाल र श्रीष शमशेरको हन्डी खान नपाएका लोकल पत्रिकामा सुरेशजीको अन्त्रवार्ता छपाउँदै हन्डी वितरण गर्ने जस्ता कुराहरु हामीले गरेका छौँ । यता केयुको वेवसाईटमा भीसि सरकी सुपुत्री प्रेरणा कुमारीले केयुमा भएको हातपातका कुरा र स्पटलाईटमा सुरेशजीका प्रशँसामा निस्केका दुई-लाईने प्रशँसाका पत्रहरुलाई बाकयदा लिँकसमेत राखेर हाम्रो यो प्रचारबाजी र पर्चाबाजीलाई सहयोग पुर्याएको छ । "का.वि. र जनवादी शिक्षा" भनेर एउटा लेख तँलाई पनि लेख भनेर मैले पहिले नै भनिसकेको छु। यसो कहिलेकाँही कलम चलाउने गर । उता मनिषले कुनै साप्ताहीकमा लेख निकालेको खन्डमा "केयुको पारस-१" भन्ने तेरो टाईटल धरापमा पर्न सक्छ। जे होस, हाम्रो प्रचारबाजी र पर्चाबाजीले हामी हरु सबजना खुशी छौँ। भिसि सर त आजकाल दिँउसै धुलिखेल लज जाने हो सीतारामजी भन्नु हुन्छ । जे हो पुष्प सरले खान छोडनु भएका कारण अहिले हामीले निर्धक्क तन्काउन सक्ने भएका छौँ। रणनैतिक प्रत्याक्रमणको पहिलो चरण पश्चात हामीले दोस्रो चरणमा "भौतिक कार्यवाही"लाई अगाडी ल्याएका छौँ। यसका लागी जलनजी जस्ता जल्दा-बल्दा गुन्डाहरु देखि लिएर बेल प्रसादजीका नजिकका अन्य स्थानिय गुन्डाहरु समेत सँलग्न छन। भौतिक कार्यवाही कतिको सफल भयो भन्ने कुरा त काफ्लेजीको अमेरीका पलायनबाट नै तैँले बुझिस होला नी। एकचोटी जलनजीले दनक दिए पछि काफ्लेजी अमेरीका पुग्नु भा' थ्यो, अहिले सम्म फर्किने हिम्मत गरेका छैनन। तर, भौतिक कार्यवाहीको दोस्रो चरणमा केयु भित्रै आक्रमण गर्ने रणनितिले अलिक घाटा लाउने त होईन जस्तो पनि लागेको छ । मास्टरबाहेक अन्य ब्यक्ती भौतिक कार्यवाहीमा पर्दा खेरी हामी साँच्चिकै गुन्डा त हुने होईन भन्ने डर लागेको छ। तँ पनि यहाँ छैनस नत्र तेरा जँकी ग्याङ्ग भा' भए त हामीलाई गुन्डा नै भने पनि केही फरक पर्दैन्थ्यो । जेहोस यो भौतिक कार्यवाहीको दोस्रो चरणले हामीलाई मिश्रित फाईदा भएको हाम्रो निर्क्योल छ।

रणनैतिक प्रत्याक्रमणको तेस्रो चरण पनि अहिले केयुमा लागु हुँदैछ । यस अन्तर्गत शिक्षक-कर्मचारीहरुलाई तलब निदने र केयुलाई केही समय बन्द गर्ने जस्ता कुराहरु परेका छन । शिक्षक-कर्मचारीहरुलाई तिमिहरुका आन्दोलन र पत्र-लेखका कारण कोही पनि विध्यार्थिक केयुमा आएनन भन्ने आरोप लगाउँदै हामीले तलब रोक्का गरेका हौँ । यस्तै अब महिना भरि काम गरेको तलब लिनका लागी पनि एउटा निवेदन भर्न लगाउने हो कि भन्ने बहस हाम्रो बिचमा चलेको छ । केयुका शिक्षकहरुले अब देखि तलब लिन कुपा, कुसा-१, कुसा-२ को विरोध गर्नु पर्ने प्रावधान सो निवेदनमा रहने छ । जुन-जुन शिक्षक-कर्मचारीले कुपा र कुसाहरुका विरोध गर्छन , उनिहरुले मातर तलब पाउने छन र हाम्रा विरोधिहरुले कुनै हालतमा पनि तलब पाउने छैनन । यो प्रावधानको सम्बन्धमा पुष्पजी र भद्रमानजी पनि एकदम खुशि देखिनु भएको छ । यसो हुँदा जनताका सोझा लगनशील प्राध्यापक डा.बोरीस निरौलालाई निष्काशन गरेजस्तै गरी अन्य कुनै शिक्षक-प्राध्यापकलाई हामीले निकाल्नु पर्दैन र उनीहरुका श्रमका मुल्य नदिएर नै उनीहरुलाई हामी तह लाउन सक्छौँ भने यसो किन नगर्ने भनेर पुष्पजी र भद्रमानजी खुशि हुनु भएको हो । यो स्कीमले पनि काम नगरेको खण्डमा हामी केयुलाई केही महिना बन्द गर्नेछौँ । देशमा पेट्रोलको भाउ बढेकोमा टायर बाल्दै अराजकता प्रदर्शन गर्ने जनता र केयुमा हाम्रा नातावाद र भ्रष्टाचारको विरुद्ध शँखनाद गर्ने प्राध्यापकहरु सब एकहुन भनेर सुरेशजीमार्फत गीरीजा बाउलाई बिन्ती गर्ने हाम्रो प्लान छ । २० लाख जनताको बलले मरिसकेको प्रतिनिधि सभा ब्युँताएर राज गर्ने गिरिजा बाउ पनि आजकालका जुलुस प्रदर्शनबाट त्यति खुशि हुनुहुन्न। जनताको काम भनेको त उहाँलाई सत्तामा राख्ने र सो को लागी आफुलाई शहीद बनाउने मात्र हो भन्ने उहाँको (गिरिजा बाबु) मानसीकता त कटुवालजीको केशमै देखिसकिएको छ । तीब्र जनदबाव र सत्याग्रहले झुक्ने हाम्रो गिरिजाबाउको बानी छैन र उहाँको राजनैतिक शैली र हाम्रो राजनैतिक शैली ठ्याम्मै मिल्ने भएर उहाँले हाम्रो कुरा सुन्नेमा सुरेशजी ढुक्क हुनुहुन्छ । तसर्थ छोरा, केयुका मास्टरहरुले जतिसुकै लोकतन्त्रका धक्कु लगाउन, सत्यताको लागी आग्रह गरुन र हाम्रा नाताबाद-कृपाबादका कुराहरु केलाउन, हामी अपराजीत छौँ र हामीलाई कसैले हराउन सक्दैन। देशमै लोकतान्तृक आन्दोलनलाई दिग्भ्रमित बनाउने खेला चलिरहेको बेलामा सुरेशजीका आँशु र बर्बराहटले प्रत्येकलाई पगाल्ने छन र दोष अन्तत: यीनै मास्टरहरुका टाउकोमा पर्न जानेछ। यसरी विश्वविध्यालय बन्द भएको अवसर पारेर यस आन्दोलनमा लाग्ने प्रत्येक मास्टरलाई, हाम्रा विरुद्ध पत्र-पत्रिकामा लेख्ने प्रत्येक मास्टरलाई हामी केयुबाट निकाल्ने छौँ। यस्तै केहीलाई त हामीले अदालतमै लैजानु पर्छ भन्ने पनि सोचेका छौँ। खुब लोकतान्तृक भएर पत्रिकामा लेख्थे, यीनिहरुलाई त हामी अदालती प्रकृयाले नै ठिक गर्नेछौँ। यदि यो रणनैतिक प्रत्याक्रमणले पनि काम गरेन भने सुरेशजी र मैले ब्रम्हास्त्र नै हान्ने छौँ। अहिले भै रहेको थैली भेटमा १०-१२ वटा थैली त बढी खर्च गर्नु पर्ने हो। के छ र हामीलाई? टन्न खाएर बसेका छौँ र चढाउने छौँ प्र्त्येक पार्टि र प्रत्येक नेतालाई नजराना र लिने छौँ प्रचन्ड सम्रथन केयुमा हाम्रो नातावाद र कृपावादलाई कायम गर्न।

उता सुरेशजीले यिनै रणनैतिक प्रत्याक्रमणका प्रत्येक चरणका अनुगमनमा लाग्नु भएको छ। उहाँले भन्नु भा'हो एक दुई जना मास्टरहरुले कराए भन्दैमा केयुका पारसहरुले डराउनु पर्दैन भनेर । सुरेशजीको कार्यशैलीको तँ धेरै ठूलो प्रशँसक थिइस र नेपालमै रहेको भए झन ठूलो प्रशँसक हुन्थिस होला । युद्ध र प्रेममा हरेक चिज जायज छ भन्ने सुरेशजीले प्रेममा परेर के गर्नु भा' थ्यो, त्यसको नालीबेली त तँलाई थाहा नै होला। तर, अहिले युद्धको बेलामा उहाँ यी रणनितीहरु धेरै महत्वपूर्ण छन । अख्तियार लगायत विभिन्न स्थानका मुद्दाहरु लडदा-लडदा पोख्त हुनु भएका उहाँका भ्रष्टाचारी भाईहरुलाई उहाँले महाभारतमा बाँकी चार पान्डवलाई युधिष्ठिरले परिचालन गरेकै रुपमा परिचालन गर्दै हुनुहुन्छ । कलियुगको झुठवादि युधिष्ठिर हाम्रा सुरेसजीका भाईहरु पनि बाँकी चार पान्डवकै कलियुगी सँस्करण जस्तो लाग्छ मलाई । आयल निगममा बसेर भीमकाय भ्रष्टाचार गर्ने मदनजी, र कृषी विकासमा बसेर प्रत्येक गाडीमा अर्जुनले माछो मात्र देख्या जस्तै गरि पैसा मात्र देख्ने जलनजी र केयुमा मैले बढता खाएपनि सहदेवले जस्तै सहन सक्ने मुकुन्दजी का साथ-साथै रमेशजी पनि आजकाल अत्यन्त ब्यस्त हुनुहुन्छ । स्थानीय रुपमा बेल प्रसादजी र रामकन्ठजीले हनुमान र सुग्रिवको रुप धारण गर्दै केयुमा वानर सेना पनि पठाएको कुरा हेर्दा त हामीले महाभारत मात्र होईन रामायण पनि जित्छौँ जस्तो लागेको छ । जे होस सुरेशजीको दिमागलाई मैले एकदम मानेको छु र सुरेशजी प्राध्यापक, लेखक, वक्ता र प्रवक्ता मात्र नभएर एेतिहाँसिकता बुझेका युद्धकौशल सेनापती पनि हुनुहुन्छ । धन्न, उहाँ शैक्षिक क्षेत्रमा लाग्नु भो, आर्मिमा लाग्या भए, कटुवालजी घोती न टोपि भईसक्ने थिए । यस्ता सुरेशजीलाई केही ब्लगमा लेख्दैमा र कसैले गाली गर्दैमा केही फरक पर्दैन छोरा । तसर्थ, छोरा तँ ढुक्क भएर बसे हुन्छ हाम्रो जित हुन्छ भनेर र यसै मेसोमा कालो पदार्थ बिना एक-दुई राउन्ड बियर पनि ताने हुन्छ।

तिमिलाई माया गर्ने
सीताराम रजिष्ट्रार

No comments: