Tuesday, July 25, 2006

सीतारामको ई-मेल छोरालाई -२

##################################
आर. बजगाई (ई-मेलबाट प्राप्त)
##################################
प्यारो बृजेश,
यस अगाडीको ई-मेल कसरी लीक भएछ भन्ने सम्बन्धमा तिमिले फोन गरेकै भोलीपल्ट मैले कार्यालयका सब कर्मचारीसँग केरकार गर्दै सोधखोज गरेँ । यस सम्बन्धमा म निक्कै सचेत छु र सकभर आईन्दा देखी प्रीन्ट आउट प्रीन्ट गरिसकेपछी ब्रीफकेशमा नै राख्नेछु। के गर्ने यति समस्या र टेन्सन छ, म त आजकाल ठाँउका ठाँउ चिजबिजहरु बिर्सन थालेको छु । पुष्पजी र भद्रमानजीले पनि सोधखोज गर्दै हुनुहुन्थ्यो के त्यो ई-मेल तपाँईले नै लेखेको हो भनेर। मैले यो सब विरोधीहरुको प्रचार हो र हाम्रो सफलतासँग जल्नेहरुको करतुत हो भनेर लगाईदिएको छु । भद्रमानजीले त चित्त बुझायो जस्तो छ तर पुष्पजीले चाँही त्यति सार्हो चित्त बुझाएन। चित्त बुझाओस पनि कसरी त तैँले बेकरी र ठाँउ-कुठाँउ मेरो बाउको बिरोध गर्ने त्यो पुष्पराज यस्तो भन्दै फुक्दै हिँडेकै त होस नी । शायद हाम्रो यस्तै विरोधका कारण अस्ति मलाई मास्टरहरुले घेरेर पसीना निकाल्दा खेरी पुष्पजीलाई दश चोटी फोन गर्दा पनि मेरो बचावटमा नआउनु भा'को होला। अहिलेको सँक्रमणकालमा हामीलाई पुष्पजी जस्ता पदलोलुप अरौटे-भरौटेहरुको निक्कै जरुरत पर्दछ र त्यसका लागी तैँले पनि राम्रो सँग बोल्ने गर्नु पर्छ। खै तँलाई मात्र म के भनुँ, गल्ती त मैले पनि गरेकै हुँ। डा. बोरीसलाई निकाल्ने बेलामा पनि पुष्पजीले हामीसँग सरसल्लाह र सहमती लिनु भएकै त हो नी। तर, आजकाल मास्टरहरुले उहाँलाई मात्र तारो बनाउँदा हामीले उहाँलाई एक्लै पार्नु भो भनेर गलफत्ती पनि गर्दै हुनुहुन्थ्यो। शायद, यसै कारण पुष्पजी आजकाल त्यति बोल्नु हुन्न। लोकतन््त्र आउनु अगाडी ठुल-ठुला कुरा गर्ने लोकमान जस्तै, अहिले लोकमानकै साईज र प्रवृतीका पुष्पजीले नबोल्दा केयुका 'पारस'का पिताश्रीलाई अप्ठेरो नपर्ने त कुरै भएन नी होईन र?

जे हो धन्दा नमान। हामीले पनि ठूलो गोटी चालिसकेका छौँ। केही समय अघि हामीले कुपामा लाग्ने सदस्यहरुलाई हाम्रा मित्रहरु र प्रतीभाशाली मन्डल समूह मार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा होस गर्नुस भनेका थियौँ। मास्टरहरु देब्रिन थालेपछि त घर-घरमै फोन गर्दै छोराहरुलाई सम्झाउनुस पनि भनेका थियौँ। के गर्ने नागरिक समाजले पनि टाउको नै खायो। यो नागरीक समाजको काम भनेकै राज ज्ञानेन्द्र र उनका प्रवृतीका ब्यक्तीहरुका विरोधका लागी भा'को हो की जस्तो लागीसक्यो । नागरीक समाजका वरिष्ठ हौँ भन्नेहरुलाई सुरेशजी आफैले पनि दशौँ चोटी फोन गरेर, अनुनय विनय गर्दै छोरालाई सम्झाउनु पर्यो भन्नु भा' थियो । उल्टो यो उनको निजी मामिला हो भन्दै पो पन्छीनु भो नागरीक समाजका ब्यक्तीहरु । सुरेशजीले कस्तो ईख लिनु हुन्छ तँलाई थाहा नभाको त हैन नी। रिसको झोँकमा सुरेशजीले जे पनि बोल्नु हुन्छ भन्ने पनि त तैँले बुझेकै छस नी। त्यसैले होला, अस्ती भर्खर सुरेशजीले यो सब नागरीक समाजको मान्छेलाई भीसी बनाउने खेला हो भन्दै रोटरी क्लबमा पडकीनु भो । हाम्रा मित्र मन्डले र समर्थकहरुले जोडदार ताली पिटे पछी त सुरेशजीले अब सबैलाई यसै रणनिती अन्तर्गत आक्रमण गर्ने भन्नु भा'को छ। यसले हाम्रो परिवारको का.वि.मा निर्धक्क राज चलाउने र हाल सम्म आर्जीत सम्पति सुरक्षित होला जस्तो लाग्न थालेको छ मलाई।

अर्कातिर हामीले का.वि. भित्र वार्ताको नयाँ नाटकको थालनी गरेका छौँ। वार्ता समितिमा हामीले डा. सरस्वती प्रसाद रिमाल, प्रोफेशर सुभाष र भुपेन्द्रजीलाई राखेका छौँ। हुन त शुरुमा बरालजीलाई राख्ने की भन्ने सोचेका थियौँ, तर के गर्नु आफ्नै नाता पर्ने भएकोले नाटकको पात्रको रुपमा उभ्याउन सकेका छैनौँ । यसमा जनआस्थाले ठूलो भूमिका खेलेको छ । जनआस्थाले हाम्रो नालीबेली खोलिदिएका कारण अहिले प्रत्येक नाटकका लागी पात्रहरुको सँख्या अपुग हुन गएको छ । तर पनि, वार्ताको यस नाटकमा हामीले बरालजी जस्तै अरका सेतो हात्ती प्रो. रिमालको उपयोग गरिरहेका छौँ । यस्तै, प्रोफेसर सुभाषले पनि हामीलाई पुर्ण सहयोग गर्ने वचनबद्धता दिनु भएको छ । बिना पि.एच.डी. प्रोफेशर र अहिले म्यानेजमेन्टको डिन हामीले सुभाषजीलाई यतिकै बनाएका होईनौँ । सुभाषजीको वाकपटुता र चलाखीले कुपाका वार्ताकारहरु तहलिने छ, यसमा तँ पनि विश्वस्त भए हुन्छ । यसमा तैँले कुनै धन्दा नमान । भुपेन्द्रजी पनि आजकाल म सँग त्यति खुशि हुनुहुन्न र हाम्रो लीक छोडनै लागेको कारण हामीले महत्व दिएका छौँ भन्ने देखाउन यो समितिमा राखेका हौँ । वार्ता समितिको यो नाटक सदा झैँ यसपाली पनि अरुका काँधमा बन्दुक राख्दै हामी सम्पन्न गर्नेछौँ। डा.बोरिसको केशमा पुष्पजीलाई फसाए जस्तै यो वार्ताको नाटकमा पनि हामी असफलताको जसबाट उम्किने छौँ। सफल भए यसको श्रेय सुरेशजी र मैले का.वि.को सफलतामा जस्तै गरी हामीले नै लिने छौँ र वार्ताको नाटक असफल भएमा वार्ता समितिलाई बलिको बोका बनाउने बाटो पनि हामीले खुला राखेका छौँ ।

लोकतन्त्र-लोकतन्त्र भन्दै कराउने हरुलाई पनि अब हामीले ठीक पार्ने भा'का छौँ । का.वि.मा हामीले चर्को नातावाद कायम गर्यो भन्दै प्रचन्ड रुपमा कराउने हरुका अगाडी अब हामीले प्रचन्डजी नै अगाडी ल्याउने भएका छौँ । बाबुरामजी त पहिले देखिनै हामी सँगै हाँस्दै भलो-कुसारी गर्दै आउनु भा'त हो नी। झन यसको प्रचार त सुरेशजी आफैले दोेस्रो वार्ताकालतिर बाबुरामजीसँग टाढैबाट हाई-हेल्लो भयो भन्दै गर्नु भा' कुरा त तँलाई पनि थाहा छ नि । सुरेशजीले पनि का.वि.को स्थापना र सन्चालन जनवादी मोडेल अन्तर्गत नै छ भनेर भन्न थाल्नु भा' को छ । अब, तैँले पनि का.वि. र जनवादी शिक्षा भनेर एउटा लेख लेखे हुन्छ। के गर्ने का.वि.का मास्टरहरुले जँगलको जस्तो रुप देखाउन थालेको छ भन्दै उता सात दललाई गुहार्दै आउनु पर्ने बाध्यता छ भने यता प्रचन्डजीहरुलाई पनि हामीले हातमा लिनु पर्छ । साँच्चिकै भन्ने हो भने, अहिले लोकतन्त्र आएपछी सबभन्दा अप्ठेरोमा हामी पर्न थालेका छौँ। राजाको विरपरि मात्र घुम्ने अभ्यास गर्दा गर्दै एकैचोटी आठ-दलको अगाडी शिर्षाशन गर्नु पर्दा झन गार्हो भा' छ । अहिले त माननीय सँसदका सदस्यहरुले पनि कुन बेला फोन गर्ने हो, टेन्सन हुन थालेको छ। फोनलाई ईन्टरटेन नगर्ने हो भने, सँसदमा आवाज उठाउने हो की जस्तो डर पनि लाग्छ। जे हो बाबु, लोकतन्त्र भन्या चाँही हाम्रो लागी होईन रहेछ।

उता तेरा काकाहरुसँग पनि छलफल राम्रै चल्या छ। राजा ज्ञानेन्दरले पनि बन्द गर्न नसकेका साझा र अरु ब्लग साईटहरुलाई के हामीले बन्द गर्न सक्छौँ की भनेर सोच्दा सोच्दै दुनिँयाकै ठूलो लोकतान्त्रिक छिमेकी मूलुक भारतमा ब्लग साईटहरुमाथि प्रतिबन्ध लगाएको खबरले सुरेशजी, म लगायत भद्रमानजी एकदम खुशि भा'का छौँ। तँलाई त थाहा नै छ नी, यो सुचना प्रविधी सम्बन्धी निती नियम पनि हाम्रै मान्छेहरुले बनाउँदै छ नि। सुरेशजी र मैले सो टोलीका मान्छेहरुलाई यसो धुलीखेल लजमा लगेर मनोरन्जन गर्दै नेपालमा पनि साझा र बल्गस्पटलाई बन्द गराउन भन्न लागेका छौँ। त्यसैले, जो सुकैले जे सुकै लेखे पनि तैँले चिन्ता नमान। हामीले यकातिर यो हाम्रो प्रगती सहन नसक्ने हरुको काम हो भन्दै प्रचार गरेका छौँ भने भित्र भित्र नेपालमा यो ब्लग-स्लग नै नहोस भन्ने चाहीरहेका छौँ। हुन पनि अघिल्लो पल्ट हाम्रो अत्यन्त नितान्त कसले के खायो भन्ने ब्यक्तीगत कुरा गर्नेहरुले तिमिहरुका कोठाभरी छताछुल्ल "भरेको बेलुन(?)" का कुरा पनि ननिकाल्ला भन्ने छैन। त्यसैले, सकुन्जेल हाम्रो पारिवारीक कुराहरु अब देखि फोनमा मात्र गर्ने किनभने दुनियाँले थाहा पाए भने हाम्रो परिवारकै बेईज्जत हुन्छ। होस गरेस है।

तिम्रो माया गर्ने,
सीताराम
रजिष्ट्रार

#####################################
लेखकलाई निम्न ई-मेलमा सम्पर्क गर्न सकिन्छ:rbuzzgain@yahoo.com
#####################################

3 comments:

Anonymous said...

Yo Bhareko Balloon ko kahani chai ke ho?

Anonymous said...

Sitaram lai sodhe thaha hunchha.

Buzzgain

Anonymous said...

Sitaram lai sodhe thaha hunchha.

Buzzgain