भ्रष्टाचारमा डुब्यो काठमाडौँ विश्वविध्यालय
विध्यार्थी भर्ना फारामको रकम लुकाइयो
अदृश्य खर्च एक वर्षमा चार गुना बढ्यो
सम्धीलाई पाँच करोडको ठेक्का
नयाँ उपकुलपतिको खोजी
रामबहादुर रावल (दृष्टी साप्ताहिक काठमाडौं १८ मंसिर २०६४ मंगलबार)
विगत १६ वर्षदेखि काठमाडौँ विश्वविध्यालयमा उपकूलपति रहेका डा. सुरेशराज शर्माको चौथो कार्यकाल सकिनै लाग्दा उनले नातागोताको आधारमा झन्डै पाँच करोडको ठेक्का आफन्तलाई दिलाएको तथ्य फेला परेको छ। विश्वविध्यालय अन्तर्गत स्कुल अप मेनेजमेन्ट भवन निर्माणमा डा.शर्माले आफ्ना कान्छा सम्धी मुकुन्द प्रसाद दवाडीलाई यस्तो ठेक्का दिएका हुन। निर्माणसम्बन्धी काम गर्न विश्वविध्यालयको आफ्नै निकाय हुँदाहुँदै प्रशासकीय बदनियताका कारण ठेक्कामा काम गराइएको थाहा भएको छ। यसमा ०६१/०६२ र ०६२/०६३ मा क्रमशः दुई करोड ५७ लाख ४४ हजार तीन सय ६३ र एक करोड ५२ लाख गरी दुई वर्षमा चार करोड नौ लाख ४४ हजार तीन सय ६३ रुपिँया निकासा भइसकेको छ।
गत वर्ष मेडिकल स्कुल भवन निर्माणका नाममा गएको रकममा पनि अनियमितता भएको बताइएको छ। आर्थिक वर्ष ०६१/०६२मा यसमा पाँच करोड १० लाख ४९ हजार नौ सय रुिपयाँ खर्च गरिएको लगत विश्वविध्यालयले राखेको छ। गत वर्ष दुई करोड ४१ लाख ६६ हजार रुपियाँ यअी शीर्षकमा खर्च गरिएको छ। बर्सेनि करोडौँ खर्चेर मेडिकल स्कुलका नाममा कतिवटा भवन बनाइयो भनेर अहिले विश्वविध्यालयका कर्मचारी तथा प्राध्यापकहरुले प्रश्न उठाउन थालेका छन। विश्वविध्यालय स्रोतलेे जानकारी दिएअनुसार धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ मकाजुसमेतको यस रकम हिनामिनामा मिलोमितो रहेको छ। स्कुल अफ मेडिकल साइन्सका शैक्षिक कार्यक्रम सन्चालन गर्न शिक्षण अस्पतालका रुपमा धुलिखेल अस्पताललाई प्रयोग गर्न थालेपछि डा. मकाजुले भवन निर्माण, मर्मत लगायतका विभिन्न बहानामा रकम माग गर्ने र उपकुलपति डा. शर्मालगायतको समूहले मितव्ययिताको सिद्धान्तलाई बेवास्ता गरी आँखा चिम्लेर निकासा दिने प्रवृतिले प्रश्रय पाएकोमा असन्तोष प्राज्ञिक वृतमा पोखिन थालेको छ। डा. मकाजुले स्कुल अप मेडिकल साइन्समा एसोसियट डीन तथा अस्पताल निर्देशकजस्तो दोहोरो पद तथा सुविधा लिइरहेका छन।
अस्पतालसँग पर्याप्त गाडी र एम्बुलेन्स हुँदाहुँदै विश्वविध्यालयलाई खोक्रो पार्न डा. शर्मा र मकाजुको मिलोमितोमा गाडी तथा इन्धनका नाममा लाखौँ रकम निकास गरी दुरुपयोग गर्ने गरिएको बताइएको छ। चालू आर्थिक वर्षमा अस्पतालको लागि एक करोड ८५ लाख रुपियाँ गाडीमा खर्च गर्ने भनेर विश्वविध्यालयको रकम विनियोजन गरिएको छ।
विश्वविध्यालयको लेखा परिक्षण गर्ने सँस्था नक्सालस्थित जीबी एन्ड कम्पनीलाई समेत प्रभावमा पारी प्रायोजित आँकडा प्रस्तुत गरिएका छन। विध्यार्थि भर्ना फाराम वितरणबापत उठाइएको शुल्क ०६२ सालभन्दा ०६३मा घटेको देखाइएको छ। जबकि विध्यार्थि सँख्या दिनदिनै बढिरहेको आँकडा विश्वविध्यालयको प्रगति विवरणमा उल्लेख गरिएको छ। ०६२मा ६७ लाख २० हजार छ सय ४० रुपियाँ भर्ना फाराम शुल्कवापत उठेको देखाइएको छ भने ०६३मा सोही शीर्षकमा ६१लाख ५४ हजार नौ सय ५५ मात्र आम्दानी भएको वासलातमा देखिन्छ। 'यस्तो वासलात सरासर कीर्ते देखिन्छ। विध्यार्थि बढेको बढ्यै छन। शुल्कदर घटाइएको छैन। अनि कसरी आम्दानी घट्छ?विश्वविध्यालयको लेखा शाखानिकट सूत्रको प्रश्न छ। सूत्रका अनुसार, प्रायोजित आँकडा प्रस्तुत गरी लेखा परीक्षक र प्राज्ञसभाको आँखा छारो हाल्ने काम विश्वविध्यालय प्रशासनले गरेको छ।
विश्वविध्यालयमा काल्पनिक आँकडाको खेती कसरी गरिन्छ भन्ने कुराका उदाहरण चालू आर्थिक वर्षको प्रस्तावित बजेटमा पनि भेटिएका छन। त्यसमा नर्सिङ सेवाका स्नातक र प्रवीणता प्रमाणपत्र तहबाट समान रकम उठाउने अनुमानित आय प्रस्तुत गरिएको छ। प्रमाणपत्र र बीएस्सी नर्सिङ दुबै तहबाट ११ लाख ५० हजारको समान स्तरमा आम्दानी हुने देखाइएको छ। फरक तहका फरक कार्यक्रमबाट समान शुल्क उठाउने विश्वविध्यालयको कुन नीति अन्तर्गत पर्छ भनेर प्राध्यापक बीचमै आजभोलि ब्यङ्ग्य चल्न थालेको छ।
मसलन्द खर्चका नाममा पनि विश्वविध्यालयमा लाखौँ अनियमितता हुने गरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर उजुरीमा रहेको समाचार यसअघि दृष्टिमा प्रकाशित भइसकेको छ। दृष्टिको थप अनुसन्धानबाट प्राप्त तथ्यअनुसार, विश्वविध्यालय प्रशासनले गत आर्थिक वर्षमा अप्रत्यासित रुपमा मसलन्द खर्च बढेको देखाएको छ। ०६१-०६२ मा दुई लाख ७८ हजार एक सय २० रुपियाँ खर्च गरिएकामा ०६२-०६३मा यो बढेर आठ लाख २१ हजार दुई सय तीन रुपियाँ पुगेको छ। एक वर्षमा एउटै शीर्षकमा झन्डै चार गुना खर्च वृद्धि हुनु अप्रत्यासित भएको स्रोतको टिप्पणी छ। मसलन्द र विविध शीर्षकमा ठूलो रकम अदृश्य खर्च गर्ने गरिएको स्रोत बताउँछ। चालू आर्थिक वर्षका लागि ११ लाख खर्च अनुमान गरी यस शीर्षकमा बजेट विनियोजन गरिएको छ।
कर्मचारीका सन्तानका लागि विश्वविध्यालय हाताभित्रै विध्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले आठ वर्षअघि स्थापित माध्यामिक विध्यालयको खर्चको पारदर्शितामाथि पनि पटकपटक प्रश्न उठदै आएको छ। यहाँका कर्मचारीका छोराछोरीलाई पढाउन स्थापित भए पनि कतिपय कर्मचारीले चर्को शुल्कका कारण आफ्ना छोराछोरी अन्यत्र पढाएका छन भने बाहिरबाट विध्यार्थि भर्ना लिँदै शिक्षाको नाममा व्यापार चम्काइएको छ। त्यस विध्यालयमा १० प्रतिशत कर्मचारीले पनि आफ्ना छोराछोरी भर्ना नगरेको स्रोतको दावी छ। विश्वविध्यालयले यसरी विध्यालय तहका कार्यक्रम चलाउन पाउने कि नपाउने भन्ने नीतिगत प्रश्न झन अनुत्तरित नै छ।
नयाँ उपकूलपतिको खोजी
शुक्रवार वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको विश्वविध्यालय सभाले शिक्षा मन्त्री प्रदीप नेपालको सँयोजकत्वमा उपकूलपति सिफारिस समिति गठन गरेको छ। सभाषदद्वय डा. मोहनमान सैँजु र दमननाथ ढुँगाना सदस्य रहेका छन। समितिले नयाँ उपकूलपतिको खोजी गरिरहेको छ। वर्तमान उपकूलपति डा. शर्मा लामो समयदेखि सो पदमा रहँदै आएको, भ्रष्टाचार र विवादास्पद निर्णयमा मुछिएको र विश्वविध्यालयका प्राध्यापक र कर्मचारीको तीव्र असन्तोष रहेका कारण उनलाई विदा दिने तयारी भइरहेको थाहा भएको छ। नेपाल प्राध्यापक सँघले लिखित रुपमै शर्मालाई हटाउनुपर्ने माग राखी कूलपति समेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सहकूलपति एवम शिक्षामन्त्री नेपाललाई ज्ञापनपत्र बुझाएका छन। काठमाडौँ विश्वविध्यालय प्राध्यापक सँघले पनि एक अपिल जारी गर्दै भ्रष्टाचार मुद्धामा छानविन भइरहेका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी नदिन आग्रह गरेको छ। सँघका अध्यक्ष डा. राम प्रसाद घिमिरे र महासचिव डा. समीरमणि दीक्षितद्वारा जारी अपिलमा विश्वविध्यालयलाई नातावाद, कृपावादका आधारमा कर्मचारी भर्तीकेन्द्र तथा आर्थिक अनियमितता गर्ने माथि शीध्र कारवाहीको माग गरिएको छ।
रजिस्ट्रारलाई अख्तियारको पत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रजिष्ट्रार सीताराम अधिकारीलाई विश्वविध्यालयका वासलात र अन्य विवादास्पद फाइलहरु लिएर मँगलबारभित्र हाजिर हुन बोलाइको छ।विश्वविध्यालयभित्र भएका भ्रष्टाचार छानविनका क्रममा आयोगले चाँडै नै अन्य पदाधिकारी तथा कर्मचारीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको बुझिएको छ।
No comments:
Post a Comment